डोल्पा, बैशाख १५
नेपाल बौद्ध महासंघले विश्व वन्यजन्तु कोष (डब्लु डब्लु एफ नेपाल) सँग समन्वय गरी डोल्पा जिल्लाको ठुली भेरी नगरपालिका, काईके गाउँपालिका, डोल्पो बुद्ध गाउँपालिका र शे–फोक्सुण्डो गाउँपालिकामा बौद्ध शिक्षाको माध्यमबाट वन्यजन्तु तथा वातावरण संरक्षण सम्बन्धी जनचेतना कार्यक्रम आयोजना गरिएको थियो ।
१ नगरपालिका र ३ गाउँपालिकामा आयोजना गरिएको उक्त जनचेतना कार्यक्रम बैशाख २ गतेका दिन जिल्ला समन्वय समितिको सभा कक्षा, ठुली भेरी नगरपालिका, दुनैमा बैशाख ३ गतेका दिन काईके गाउँपालिकाको गुम्बा तारा स्वास्थ्य चौकीको सभा कक्षामा बैशाख ६ गतेका दिन डोल्पो बुद्ध गाउँपालिकाको सभा कक्षामा र बैशाख ८ गतेका दिन शे–फोक्सुण्डो गाउँपालिकाको सभा कक्षामा जिल्ला समन्वय समितिका प्रमुख शेर बहादुर बुढा, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, सदस्य गोन्पाका प्रमुख लामा, विभिन्न धार्मिक तथा सामाजिक संघ, संस्था, गोन्पा तथा आमा समूहका प्रतिनिधिहरूको साथै गाउँलेहरूको उपस्थिति कार्यक्रम सम्पन्न गरिएको थियो ।
कार्यक्रमलाई नेपाल बौद्ध महासंघका अध्यक्ष आचार्य नुर्बु शेर्पा, खेन्पो मेल्हाफुन्छोग गुरुङ, लोपोन छोइङ राङ्डोल रोकाय (मगार), लोपोन कर्मा छिरिङ लामा, लामा पेमा गुरुङ, नेपाल बौद्ध ञिङमा संघका सचिव भिक्षु आङ फुरी शेर्पा र नेपाल बौद्ध महासंघका कार्यालय प्रमुख आचार्य सार्की शेर्पाले सहजीकरण गरिएको थियो ।