काठमाण्डौ, असार २
नेपाल बौद्ध महासंघको वार्षिक कार्यक्रम अन्तर्गत मनाउँदै आएको सागा दावा पर्व यस वर्ष स्वयंभू स्थित मुस्ताङ गोन्पामा चारै हिमाली बौद्ध परम्पराका भिक्षु, श्रमणेर, श्रमणेरिकाहरूको उपस्थितिमा दुई दिने सागा दावा विशेष पूजा कार्यक्रम सम्पन्न भएको छ । प्रणिधान (मोन्लाम) कार्यक्रममा विशेष अतिथिको रूपमा श्रद्धेय सेर्कोङ रिन्पोछे र श्रद्धेय खेन्पो सोनाम टासी रिन्पोछेज्यूलाई आमण्त्रण गरिएको थियो । असार १ र २ गते दुई दिन भएको सागा दावा मोन्लाम पूजा कार्यक्रम स्थलमा बुद्धको अस्तु धातु (रिङ्सेल) पनि श्रद्धालु भक्तजनहरूलाई दर्शनको राखिएको थियो ।
बौद्धमार्गीहरूले सागा दावा अर्थात् बैशाख महिनालाई पवित्र महिनाको रुपमा लिने गर्दछ । विशाखा नक्षत्रको नामबाट रहन गएको यो महिनालाई हिमाली बौद्ध समाजले सागा (विशाखा) दावा (महिना) ‘सागा दावा’ बैशाख भनिएको हो । सादा दावा पर्व शाक्यमुनि बुद्धको जन्म, बुद्धत्व प्राप्त र महापरिनिर्वाण हुनु भएको त्रिसंयोग पुण्य तिथि परेको बैशाख पूर्णिमाका दिन पर्दछ । विशेष गरी यो पर्व बुद्धजयन्तीलाई लक्षित गरी मनाइने पर्व भए तापनि हिमाली बौद्ध समाजमा यो पर्व बुद्ध जयन्तीको ठीक एक महिनापछि पर्दछ । तर पनि नेपालमा प्रचलित पात्रोमा चन्द्र अधिकमास परेको वर्ष भने एकै महिनामा एक साथ पर्ने गर्दछ । किनभने भोट ज्योतिष पात्रोमा अधिकमास परे तापनि नेपाली चन्द्रपात्रोमा अधिकमास नपरेको हुँदा सादा दावा पुनः जेठ, असार महिनामा पर्ने गर्दछ ।
उक्त सागा दावा (बैशाख महिना) मा बुद्धको त्रिसंयोग महापुण्य तिथि परेकोले यो महिनामा पुण्य, पाप जुन सुकै कार्य गर्दा पनि लाखमा परिवर्तन हुने जना विश्वास रहेकोले यो महिनालाई बुम ग्युर दावा पनि भन्ने गर्दछ । तसर्थ बौद्धमार्गीहरूले यो महिनामा ञ्युन्ये व्रत, बुद्ध वचन (कंग्युर) को पाठ, धार्मिक प्रर्वचन, बौद्ध, स्वयंभू आदि पवित्र स्थाल परिक्रम, अष्ठांग ढोक, पाठपूजा, नगद दान, भोजन दान, रक्तदान आदि शुद्ध मनले पुण्य कार्य गर्ने गर्दछन् ।
Click here for more photos https://www.facebook.com/Nepal-Buddhist-Federation-273631819448267/