काठमाण्डौ, जेठ–१५
नेपाल बौद्ध महासंघको वार्षिक कार्यक्रम अन्तर्गत मनाउँदै आएको सागा दावा प्रणिधान (मोन्लाम) यस वर्ष बौद्ध स्थित थरलाम गोन्पामा चारै हिमाली बौद्ध परम्पराका भिक्षु, श्रामणेर, श्रामणेरिकाहरूको उपस्थितिमा दुई दिने विशेष पूजा कार्यक्रम सम्पन्न भएको छ । प्रणिधान (मोन्लाम) कार्यक्रममा विशेष अतिथिको रूपमा एक एक सत्रमा पालै पालो चारै परम्पराका विशिष्ठ श्रद्धेय रिन्पोछेहरूलाई आमण्त्रण गरिएको थियो । मोन्लाम पूजा कार्यक्रम स्थलमा बुद्धको अस्तु धातु (रिङ्सेल) लाई श्रद्धालु भक्तजनहरूलाई दर्शनको लागि राखिएको थियो ।
सागा दावा अर्थात् बैशाख महिनालाई बौद्धमार्गीहरूले एक पवित्र महिनाको रुपमा लिने गर्दछ । विशाखा नक्षत्रको नामबाट रहन गएको यो महिनालाई हिमाली बौद्धमार्गीहरूले सागा (विशाखा) दावा (महिना) ‘सागा दावा’ भनिएको हो । शाक्यमुनि बुद्धको जन्म, बुद्धत्व प्राप्त र महापरिनिर्वाण हुनु भएको त्रिसंयोग महापुण्य तिथि बैशाख पूर्णिमाका दिन पर्दछ । विशेष गरी यो महोत्सव बुद्धजयन्तीलाई लक्षित गरी मनाइने पर्व भए तापनि हिमाली बौद्धमार्गीहरूको समाजमा यो महोत्सव बुद्ध जयन्तीको ठीक एक महिनापछि पर्दछ । तर पनि नेपालमा प्रचलित पात्रोमा चन्द्र अधिकमास परेको वर्ष भने एकै महिनामा साथ पर्ने गर्दछ । किन भने भोट ज्योतिष पात्रोमा अधिकमास परे तापनि नेपाली चन्द्रपात्रोमा अधिकमास नपरेको हुँदा सादा दावा पुनः जेठ महिनामा पर्दछ । उक्त सागा दावा (बैशाख महिना) मा बुद्धको त्रिसंयोग महापुण्य तिथि परेकोले यो महिनामा पुण्य, पाप जुन सुकै कार्य गर्दा पनि लाखमा परिवर्तन हुने जना विश्वास रहेकोले यो महिनालाई बुम ग्युर दावा पनि भन्ने गर्दछ । तसर्थ बौद्धमार्गीहरूले यो महिनामा ञ्युन्ये व्रत, बुद्ध वचन (कंग्युर) को पाठ, धार्मिक प्रर्वचन, बौद्ध, स्वयंभू आदि पवित्र स्थाल परिक्रम, अष्ठांग ढोक, पाठपूजा, नगद दान, भोजन दान, रक्तदान आदि शुद्ध मनले पुण्य कार्य गर्ने गर्दछन् ।
Click here for more photos : https://www.facebook.com/pg/Nepal-Buddhist-Federation-273631819448267/photos/?tab=album&album_id=1308339635977475&__xts__%5B0%5D=68.ARDFyjTNtX7AhG_rfCBvTYYWq1OvdT2UIQ58yQ1B7EI-a2NTahYM5wHZIyp5pBcrzV3u444sRmjYcpj_0C8Wrc9mC4X10bJWOrPh-q1yYCQZZbnRowPBl0qyZf67EbG1v06UIZQMJRgVtVIWXZ3Q2Dq7UHuaP3qi0u4YqqE5vXsWESVzbTxEuA&__tn__=-UC-R