कार्तिक १९,
नेपाल बौद्ध महासंघद्वारा बौद्ध विधालय समिति नेपालको सह-आयोजक र खेन्चे फ़ाउन्डेशनको प्रायोजकमा आयोजित गोन्पा शिक्षा सम्बन्धी तीन दिने कार्यशाला गोष्ठी बौद्ध गार्डेन पार्टी प्यालेस, तीनचुलीमा सम्पन्न भएको छ । नेपालको विभिन्न जिल्लाका ३७ वटा गोन्पाका प्रतिनिधिहरूको सहभागितामा कार्तिक १७ गतेबाट शुरु भएको कार्यशाला गोष्ठी आज सम्पन्न भएको छ ।
उक्त कार्यशाला गोष्ठीमा गाउँका गोन्पा विद्यालयहरूमा परम्परागत धार्मिक शिक्षाको साथै आधुनिक शिक्षालाई कसरी समायोजन गरेर अध्यापन गर्न सकिन्छ भन्ने विशेष छलफल भएको थियो । गोष्ठीको वक्तको रुपमा रातो बंगला फाउन्डेशनका अध्यक्ष, डा. शान्त दीक्षित, जर्मन नेपाल हेल्पिङ असोसीएशनका निर्देशक, केदर तामाङ, टिच फर नेपालका कार्यकारी निर्देशक, शीरिष खनल, गोन्पा/विहार व्यवस्थापन परिषद नेपालका अध्यक्ष आचार्य नुर्बु शेर्पा, शिक्षा विकास तथा अनुसन्धान केन्द्र (सेरिड) का शोधार्थी डा. रेनु थापा आदिले विभिन्न विषयहरूमाथि कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । कार्यपत्र प्रस्तुत पश्चात् सम्बन्धित विषयका विज्ञहरू समक्ष सहभागीहरूबाट आआफ्नो गोन्पा विद्यालयहरूमा देखिएका समस्याहरूको समाधानको लागि विभिन्न प्रश्नहरू रखिएको थियो र विज्ञहरूबाट समस्य समाधानको उपयाहरू बताउनु भएको थियो ।
कार्यक्रमको अन्तमा सहभागीहरूले यस प्रकारको कार्यशाला गोष्ठी गोन्पा विद्यालय सञ्चालन गरिएकाहरूको लागि अति उपयोगी रहेकोले आगामी दिनहरुमा पनि यस प्रकारको गोष्ठी आयोजना गर्नुपर्ने विचार व्याक्ता गरिएको थियो ।