• I learned to gain my happiness reducing my desires.
  • Mere learning is of no avail without actual practice. The learned man who does not practice is like a colorful flower without scent.
  • Do not cultivate any non virtuous action - cultivate only perfect virtuous action. Subdue your own mind: this is the teaching of Lord Buddha.
  • Science without religion is blind. Religion without science is lame.
  • Letting go of desire is gaining the real happiness and satisfaction in our daily life.
  • Why be unhappy about something. If it can be remedied, And what is the use of being unhappy about something, If it cannot be remedied.
  • My religious is Love and Compassion. H.H. 14th DHL
  • I have learned to seek my happiness by limiting my desires, rather than attempting to satisfy them.
  • Mere learning is of no avail without actual practice. The learned man who does not practice, is like a colorful flower without scent.
  • Do not cultivate any non virtuous action, cultivate only perfect virtuous action. Subdue your own mind: this is the teaching of Lord Buddha.

गोन्पा शिक्षाको ऐतिहासिक पृष्ठभूमि र विकास क्रम

         आज भन्दा २५५७ औं वर्ष पूर्व नेपालको लुम्बिनी उद्यायनमा शाक्य कुलका राजा शुद्धोधन तथा रानी महा मायादेवीको सुपुत्रको रुपमा जन्म लिनु भएका राजकुमार सिद्धार्थले २९ वर्षको उमेरमा यस संसारिक दुःखबाट पीडित प्राणीहरुको उद्घारको लागि आफ्नो परिवार सहित वैभवशाली राजदरवारलाई त्यागेर ज्ञानको खोजिमा निस्कनु भयो । तत्कालिन ख्यातिप्राप्त गुरुहरु कहाँ जानुभई विभिन्न प्रकारका शिक्षाहरु हासिल गर्नु भएता पनि यथार्थ ज्ञान प्राप्त नभए पछि ती सबै गुरुहरुबाट विदा भई ६ वर्षसम्मा साधना गर्दै अन्तमा नैरञ्जना नदीको किनारमा बोधिवृक्षको मुनि पूर्वाभिमुक आसनमा बस्नुभई सम्यक् सम्बोधि  प्राप्त नभएसम्मा आफु त्यस स्थानबाट नउठने दृढसंकल्प गरेपछि वैशाख पुर्णिमाको दिन  मारहरुमाथि विजय प्राप्त गर्दै प्रतीत्यसमुत्पादको ज्ञान हासिल गरी बुद्धत्त्व प्राप्त गर्नु भयो ।

विषय प्रवेश :
      भोट भाषामा गोन्पाको अर्थ अरण्य वा सुनसान शान्त स्थान हो । गोन्पाको निर्माण गर्दा गाँउ शहरदेखि एक कोश टाढा सुनसान स्थानमा निर्माण गर्ने धार्मिक प्रचलन रहन्दै आएको छ । गोन्पा, विहार, गन्धकुटी, आनन्दकुटी आदि पर्यायवाची शब्द हुन् । शाक्य मुनि बुद्ध विराजमान हुँदा भारतमा राजगृहका राजा विम्बिसारले प्रारम्भमा वेनुवन उद्यान बुद्ध सतिह भिक्षु संघलाई दान गर्नु भएको थियो । भारतकै श्रावस्तीमा अनाथपिण्डिकले राजकुमारकै वगैचा खरिद गरी जेतवानाराम विहार निर्माण गरी बुद्धलाई चढाउनु भएको थियो । नेपालको उत्तरी हिमाली क्षेत्र तिब्बतमा सातौ शताब्दि तिर अर्थात सन् ६४० मा नेपालका राजकुमारी भृकुटी देवीले ल्हासामा शाक्य मुनि बुद्धको मूर्ति स्थापना गरी ज्योखाङ गोन्पाको निर्माण गरेर यस परम्पराको शुरुवात गरेकी थिइन् । तत्कालिन तिब्बतका महाराज स्रोङचन गम्पोले तिब्बतको ल्हासामा ठाडुग, थादुल, यङदुल र रुनोन आदि प्रसिद्ध गोन्पाहरुको निर्माण गराउनु भएको थियो । 
नेपालको सन्दर्भमा उल्लेख गर्नु पर्दा मुस्ताङ जिल्लाको माथिल्लो भेगमा पर्ने लो ग्यागर गोन्पा आचार्य पद्मा संभवको सहयोगमा तिब्बतमा सम्य गोन्पा निर्माण हुनु पूर्व निर्माण गरिएको हो भन्ने स्थानीयवासिहरुको भनाई रहेको छ । क्रमशः हुम्ल जिल्लाको लिमि हल्जी गाँउमा रहेको रिन्छेनलिङ गोन्पा सन् ९५८—१०५५ मा निर्माण गरिएको मानिन्छ । डोल्पा जिल्लाको हिसाल गाँउमा अवस्थित शाक्य थुपा गोन्पाको निर्माण १३ औं शताब्दीमा भएको मानिन्छ । सन् १७२३ मा सिन्धुपाल्चोकमा लामा ञिमा सेङ्गेले तार्केग्याङ गोन्प र पोन्लब साङवा दोर्जेले १६ औं शताब्दीमा सोलुखुम्बुको पाङवोचे गोन्पा निर्माण गरिएको थियो। तत्पश्चात् नेपालको विभिन्न जिल्लाहरुमा गोन्पा निर्माण हुँदै हालसम्म करिव ५००० गोन्पाहरु रहेको अनुमान रहेको छ ।  
गोन्पा विहारको महत्व: बौद्ध सस्कृति अनुसार गोन्पा विहार शैक्षिक, धार्मिक र सांस्कृतिक केन्द्रको हिसाबले धेरै महत्व रहेको छ । नेपालमा औपचारिक शिक्षा लागु हुनु पूर्व बौद्ध धर्मवलम्वीहरुको सम्पूर्ण शिक्षा दीक्षा बौद्ध गोन्पा तथा विहारहरुमा नै हुने गर्दथ्यो । आधुनिक शिक्षाको विकास सँगै पछिल्लो केही दशकदेखि विभिन्न विश्वविद्यालयमा बौद्ध विभाग खोली बौद्ध दर्शनका आंशिक विषयहरुको अध्ययन अध्यापन हुन थालेको छ । तर यसले बौद्ध शिक्षाको विकास तथा संरक्षण गर्नमा खासै टेवा पुगेको देखिन्दैन ।
चार परिषद :
        बौद्ध परम्परानुसार चार प्रकारका परिषदहरु हुन्छन् । १) भिक्षु २) भिक्षुणी ३) उपासक ४) र उपासिका । यी चार प्रकारका परिपषदले मात्र सही अर्थमा शाक्य मुनि बुद्धको शिक्षालाई संरक्षण तथा विकास गर्दै आ—आफ्नो दैनिक जीवनमा अभ्यास गर्दछन् । यी चार प्रकारका परिषदहरु मध्ये भिक्षु र भिक्षुणी घारबार त्यागि गोन्पा वा विहारमा आ—आफ्नै समुहमा आवसीय रुपमा बस्ने गर्दछन् र सधै त्रिपिटकको अध्ययन, अध्यपान र त्रिशिक्षाको अभ्यासमा नै व्यस्त रहने गर्दछन् । बाँकी उपासक र उपासिकाहरुले भिक्षु तथा भिक्षुणीहरुबाट धार्मिक प्रवचनहरु सुन्नुको साथै गोन्पा तथा विहारहरुको निर्माण आदि गर्नमा दाताको भुमिका निर्वाह गर्दछन् । यो परम्परा शाक्य मुनि बुद्धको जीवनकालदेखि अविछिन्न रुपमा विद्यामान छ । अध्ययन अध्यपानको अतिरिक्त गोन्पा विहारमा प्रार्थना, पाठ–पूजा हुनुको साथै वृहत धार्मिक महोत्सवहरुको आयोजना पनि गरिन्छ ।
धर्मचक्र :
       उपयकुशल महाकारुणिक शाक्यमुनि बुद्धले जीवन पर्यन्त विभिन्न रुचि, अध्याशय र क्षमता भएका विनेयजनहरुको कल्याणको लागि उनीहरुको पात्रतानुसार विभिन्न समयमा विभिन्न प्रकारको धर्मचक्रहरु प्रर्वतन गर्नु भएको थियो । महायानी परम्परा अनुसार शाक्यमुनि बुद्धले तीन पटक धर्मचक्र प्रर्वतन गर्नु भएको मानिन्छ । प्रथम ः वाराणसीको सारनाथ स्थित ऋषिपतन मृगदाव वनमा पञ्चा भद्रवर्गीय भिक्षुहरुलाई चार आर्य सत्य, दोस्रो ः  राजगृह स्थित गृध्रकुट पर्वतमा प्रज्ञापारमिता र तेस्रो ः बैशालीमा आर्य सन्धिनिर्मोचन सूत्रको विषयमा उपदेश दिनु भएको थियो ।
शाक्य मुनि बुद्धको प्रमुख शिष्य तथ बौद्ध विद्धानहरु: पहिलो पाँच शिष्यहरु (१) कौण्डिय (२) अश्वजित (३) वास्पा (४) महानाम (५) भद्रिक । दुई महारथीः शरिपुत्र र मौद्गालयन । छ: अलंकार:(१) आचार्य नागार्जुन (२) आचार्य असंग (३) आचार्य  आर्यदेव   (४) आचार्य वसुबन्धु (५) आचार्य दिङनाग (६) आचार्य धर्मर्कीति । दुई श्रेष्ठा गुण प्रभा र शाक्य प्रभ । आचार्य बुद्धघोष र आचार्य अश्वघोष ।
गोन्पा विहारमा अध्यपान गराइने विषयहरु: त्रिपिटकः (१) विनय पिटक (२) सूत्र पिटक (३) अभिधर्म पिटक । पाँच प्रमुख वचनः (१) प्रमाण (२) प्रज्ञापारमिता (३) मध्यमक (४) अभिधर्म (५) विनय । दश विद्या (१) शिल्प विद्या (२) चिकित्सा विद्या (३) शब्द विद्या (४) हेतु विद्या (५) अध्यात्मा विद्या (६) ज्योतिष विद्या (७) काव्य विद्या (८) अभिधान विद्या (९) छन्द विद्या (१०) नाटक विद्या ।
 
गोन्पा विहारमा अभ्यास गराइने शिक्षाहरु : त्रिशिक्ष ः (१) शील (२) समाधि (३) प्रज्ञा ।
आठ प्रातिमोक्षा शीलः यथा (१) उपवसथ (२) उपासक (३) उपासिका (४) श्रामणेर (५) श्रामणेरिका (६) शिक्षामाणा (७) भिक्षु (८) भिक्षुणी । 
१. शीलः जसले अहोरात्र २४ घण्टाको लागि पालन गरिने ८ धर्मलाई उपवसथ प्रातिमोक्षासंवर शील भनिन्छ । यथाः (१) अब्रह्मचर्य (२) अदत्तादान (३) प्राणातिपात (४) मृषवाद गरी ४ मूल धर्म तथा (५) उच्चशयन (६) सुरापान (७) नृत्य गीतमा रम्नु, माला गन्धको धारण गर्नु (८) विकाल भोजन गर्नु ४ अङगा धर्म गरी कुल ८ धर्महरुबाट आफ्नो रक्षा गर्नु पर्दछ ।
२ उपासक ३ उपासिका ः पञ्चशीललाई जीवन भर पालना गर्ने गृहस्थ पुरुषलाई उपासक र स्त्रीलाई उपासिका भनिन्छ । यिनिहरुले (१) प्राणीहिंसा (२) चोरी (३) झूठो बोल्नु (४) व्याभिचार गर्नु (५) नशालु पदार्थको सेवन गर्न त्याग गर्नु पर्दछ ।
४ श्रामणेर ५ श्रामणेरिका ः यी दुवै घर परिवार त्याग गरी प्रव्रजित बनेका हुन् । उहाँहरुले जीवनमा पालन गर्नु पर्ने धर्म मुख्यत ३६ धर्म हुन्छन् । जस्लाई उपहृतक्रम भनिन्छ ।
६ शिक्षामाणः यिनले जीवनमा ४८ धर्मलाई पालना गर्नु पर्दछ । ७ भिक्षुले जीवनमा २५३ धर्मलाई पालना गर्नु पर्दछ । ८ भिक्षुणीले जीवनमा ३६४ धर्मलाई पालना गर्नु पर्दछ ।
२ समाधिः शीलवान् पुद्गलको चित्त मात्रै समाधिको अनुकुल हुने गर्दछ । समाधिको लाभ हुनुलाई चित्तको एकाग्रता हुुनु पर्दछ । चित्त अत्यन्त चञ्चल भएको कारणले धेरै वेरसम्म कुनै आलम्बनमा टिक्न सक्दैन । तर अभ्यासद्वारा जब चित्तलाई कुनै कुशल आलम्बनमा एकाग्र भएर जानेछ तब त्यस अवस्थाको एकाग्रता  चित्तलाई समाधि भनिन्छ ।
 दुई प्रकारका समाधि ः लौकिक र अलौकि । लौकिक पनि दुई प्रकारका छन् ।  जस्तै रुपी र अरुपी । रुपभूमिमा हुने चित्तलाई रुपावचर र अरुपभूमिमा हुने चित्तलाई अरुपावचर भनिन्छ ।
लौकिक समाधि  त्यो हो जस्को क्षेत्र लोक भन्दा माथि हुदैन । आर्थत जस्को आलम्बन वा फल सांसारिक नै हुनै गर्दछ । संसारको अभिप्राय  (१) कामधातु  (२)रुपधातु (३) अरुपधातु हो ।
चार प्रकारका रुपी ध्यानः (१) प्रथम ध्यान (२) द्वितीय ध्यान (३) तृतीय ध्यान (४) चतुर्थ ध्यान 
चार प्रकारका अरुपी ध्यानः (१) आकाशानन्त्यायतन (२) विज्ञानानन्त्यायतन (३) आकिञ्चन्यायतन (४) नैवसंज्ञानासंज्ञायतन । सही समाधिको अभ्यासबाट रुपी र अरुपी ध्यानलाई प्राप्त गर्दै अन्तमा ध्यानपारमिता सिद्ध भएर जानेछ ।
अलौकिक समाधि लोकोत्तर समाधि हो । यो मोक्ष तिर अभिमुख हुन्छ । यस्को आलम्बन निःस्वभावता वा नैरात्म्य हुन्छ ।
३ प्रज्ञाः शील, समाधि र प्रज्ञाको क्रमिक अभ्यास नै बुद्धत्व प्राप्तिको मार्ग हो । सामान्यरुपमा शीलविशुद्धि भएपछि समाधि लाभ हुन सक्छ र समाधि प्राप्त भएमा प्रज्ञा उत्पन्न गर्न सजिलो हुन्छ । परन्तु अलिकति पनि  प्रज्ञा भएन भने शीलकै विशुद्धि पनि हुन सक्दैन । त्यस कारण घुमिफिरि आउँदा प्रज्ञा नै मूल कुरा बन्न जान्छ र मुक्ति वा निर्वाणको लागि सबभन्द प्रमुख र नभै नहुने कुरा पनि यही प्रज्ञा नै हो । दान, शील, क्षान्ति,वीर्य, ध्यान एवं प्रज्ञा गरी ६ प्रकारका पारमिताहरु छन्। यी ६ पारमिता मध्ये छैठौं प्रज्ञापारमिता प्रज्ञा हो र बॉकी पॉच पारमितालाई एक शब्दमा करुणा पनि भनिन्छ । प्रज्ञा र करुणा दुवैले युक्त भएमा मात्र बुद्धत्त्व प्राप्त गर्न सकिन्छ । 
बौद्ध परम्परानुसार शिक्षा, शिल, समाधि र प्रज्ञाले युक्त हुनु पर्दछ । शिक्षित हुनुको अर्थ कुनै व्यक्ति ईतिहास, भूगोल, गणित वा कम्प्युटरमा कुशलता प्राप्त गर्नु मात्र नभइ मानवले दैनिक जीवनमा उचित कार्यलाई ग्रहण गर्नु र अनुचित कार्यलाई त्याग्न सक्ने क्षमताको विकास भएको व्यक्तिलाई शिक्षित भन्न सकिन्छ । बुद्धले देशना गर्नु भएका सम्पूर्ण उपदेशहरु १ विनय पिटक २ सूत्रपिटक र ३ अभिधर्मपिटक गरी त्रिपिटकमा समेका छन् ।
त्रिशरण गमनः
         त्रिरत्नको शरणमा जानु बौद्धधर्ममा प्रवेश गर्ने मूलद्वार हून । यस दुःख रुपी भवसागरबाट मुक्त भई निर्वाण वा बुद्धत्वलाभ गर्नको लागि  १ बुद्धरत्न, २ धर्मरत्न र ३ संघरत्न गरी त्रिरत्नको शरणमा जानु परेको हो । बौद्ध परम्परानुसार बुद्धलाई मुक्ति दाताको रुपमा नभई सही मार्ग दर्शकको रुपमा पूजने गर्दछ । त्रिरत्नको शरणमा गए पछि पालन गर्नु पर्ने  नौ प्रकारका शिक्षाहरु छन्। 
१ पहिलो तीन प्रकारका शिक्षाहरु (क) सदैव त्रिरत्नको पूजा गर्नमा आफूलाइ समर्पित गर्नु पर्दछ । भोजन गर्द चिया, पानी पिउदा पहिले त्रिरत्नलाई अर्पण गरी सेवन गर्नु पर्दछ । (ख) आफ्नो प्राण वा धन सम्पत्ति नै जाने भए पनि त्रिरत्नलाई त्याग गर्नु हुन्न । (ग) त्रिरत्नको गुणहरु सम्झी सदै त्रिरत्नको शरणमा जानु पर्दछ ।
२ दोस्रो तीन प्रकारका सामान्य शिक्षाहरु (क) बुद्धको शरणमा गएपछि अन्य लौकिक देवताहरुको शरणमा जानु हुन्न ।(ख) धर्मको शरणमा गएपछि प्राणी हिंस गर्नु हुन्न । (ग) संघको शरणमा गएपछि गलत सिद्धान्तको अनुशरण गर्ने मित्रहरुको शरणमा जानु हुन्न ।
३ तेस्रो तीन प्रकारका सभाग शिक्षाहरु (क) बुद्धको शरणमा गएपछि बुद्धको प्रतिमा होस वा टुटेफुटेका बुद्धको फोटो तथा माटाका मूर्तिलाई बुद्धकै भाव राखी आदर गर्नु पर्छ । (ख) धर्मको शरणमा गएपछि सद्धर्म ग्रन्र्थको एउटा अक्षरलाई पनि धर्मरत्नको भाव राखी आदर गर्नु पर्छ । (ग) संघको शरणमा गएपछि कल्याणमित्रको रातो पहेलो एक टुक्र चीवरलाई पनि अदार गर्नु पर्छ । बुद्धलाई कुशल चिकित्सकको रुपमा अदार गर्नु पर्छ, धर्मलाई औषधीको रुपमा सेवन गर्नु पर्छ र संघलाई असल सेवकको रुपमा स्वीकार गर्नु पर्छ ।
 
प्रतीत्यसमुत्पादः—शाक्य मुनि बुद्धले प्राप्त गर्नु भएको ज्ञान प्रतीत्यसमुत्पाद—परनिर्भरता र कार्यकारण भावको सिद्धान्त हो । प्रतीत्यसमुत्पाद— १ अविद्या २ संस्कार ३ विज्ञान ४ नामरुप ५ आयतन ६ स्पर्श ७ वेदना ८ तृष्णा ९ उपादान १० भव ११ जाति १२ जरामरण गरी १२ अंगले युक्त छन् । बौद्ध दर्शनको दृष्ट्रिमा यो प्रतीत्यसमुत्पाद नै जीव र जगत सम्बन्धी कार्यकारण भावको अटल सिद्धान्त हो ।  सम्पुर्ण भवचक्र यसै नियम सूत्रमा आवद्ध छन् ।माथि उल्लेखित शाक्यमुनि बुद्धको दार्शनिक चिन्तनको आधारमा नै स्थविरवादको—अठार निकाय, सर्वास्तिवादको — वैभाषिक, सौत्रान्तिक र महायानको —विज्ञानवाद ,शून्यवादको विकास भएको हो । स्थविरवादको सम्पूर्ण दार्शनिक साहित्य पाली र महायानको संस्कृत, संकर संस्कृत र भोट भाषामा छन् । यी सबै दार्शनिक परम्पराहरुले सामान्य रुपमा १ क्षणिकवाद २ अनात्मवाद ३ अनीश्वरवाद ४ कार्यकारणबाद र ५ निर्वाण तथा सम्यक्सम्बुद्ध गरी ५ सिद्धान्तलाई स्वीकार गर्दछ ।
 
सङ्गीतिः शाक्य मुनि बुद्धले सर्वजन हितको लागि देशना गर्नु भएका उपदेशहरु विभिन्न समयमा भिक्षुहरुद्वारा परिषद बोलाई संरक्षण गर्ने कार्यहरु भएका छन् । 
१) प्रथम सङ्गीतिः शाक्य मुनि बुद्धको महापरिनिर्वाण भएको चार महिना पछि भारतको राजगृह स्थित  सप्तपणी गुफमा महाकश्यपको अध्यक्षतामा प्रथम सङ्गीतिको आयोजना भएको थियो । त्यस समय धर्म सम्बन्धी आनन्द र विनय सम्बन्धी उपालिले पाठ गरेका थिए । त्यस परिषदमा पांच सय अर्हत भिक्षुहरुको सहभागिता रहेको थियो । त्यस परिषदको व्यवस्थापन गर्न मगदका नरेश अजात शत्रुले सहयोग गर्नु भएका थिए ।
२) दोस्रो सङ्गीति ः आयुष्मान यशले वैशालीको वज्जिपुत्तक भिक्षुहरुले नियम विपरित दश वस्तुहरुको प्रयोग गरेको देखेको कारणले शाक्य मुनि बुद्धको महापरिनिर्वाण भएको एक सय वर्ष पछि वैशालीमा महास्थविर रेवतको अध्यक्षतामा आठ महिना सम्म राजा कालाशोकको सहयोगमा छलफल भएको थियो । त्यस सङ्गीतिमा सात सय अर्हत भिक्षुहरुको सहभागिता रहेको थियो । दश वस्तुको प्रयोग विनय विपरित भएको निर्णय गर्दै दोस्रो सङ्गीति सम्पन्न गरियो । तर त्यस पछि वैशालीको वज्जिपुत्तक भिक्षुहरुले महास्थविरको निर्णयलाई अस्वीकार गर्दै कौशम्बीमा दश हजार भिक्षुहरुको सहभागितामा फेरी अर्को सङ्गीतिको आयोजना गरी आफ्नो हितानुकुल नियमको पालना गर्ने निर्णय गरियो। 
३) तेस्रो सङ्गीति ः लाभ तथा सत्कारको लागि साठी हजार तैर्थिकहरु बौद्ध भिक्षु संघमा प्रवेश गरी बौद्ध भिक्षु संघलाई दुषित बनाएको कारणले शाक्य मुनि बुद्धको महापरिनिर्वाण भएको दुई सय छत्तिस वर्ष पछि पाटली पुत्रमा महास्थविर मोग्गलि पुत्त तिस्सको अध्यक्षतामा तेस्रो सङ्गतिको आयोजना हुदां दुई हजार अर्हत भिक्षुहरुको सहभागिता रहेको थियो । त्यस सङ्गीतिले मिथ्यवादी १७ बौद्ध निकायहरुको निराकरण गर्दै कथावस्तु नामक ग्रन्थको रचना गर्नुको साथै विदेशमा धर्मोपदेश गर्न पठाउने निर्णय गरियो ।
४) चौथों सङ्गीति ः शाक्य मुनि बुद्धको महापरिनिर्वाण भएको चार सय वर्ष पछि सिंहलद्वीपको मातुल जनपदको आलोक गुफामा महास्थविर धर्म रक्षितको अध्यक्षतामा चौथौं सङ्गीतिको आयोजना हुंँदा पाँंच सय अर्हतहरुको सहभागिता रहेको थियो । त्यस सङ्गीतिमा पहिलो पटक बुद्ध वचनलाई लिपिबद्ध गरियो ।
५) पाँचौ सङ्गीतिः शाक्य मुनि बुद्धको महापरिनिर्वाण भएको दुई हजार चार सय पन्ध्र वर्ष पछि वर्मा देशको मण्डले नामबाट प्रसिद्ध रत्न पुञ्ज नामक नगरमा धार्मिक राजा मितुको सहयोगमा सम्पन्न हुदा दुई हजार चार सय महास्थविर भिक्षुहरुको सहभागिता रहेको थियो ।
६) छैठौं सङ्गीति ः शाक्य मुनि बुद्धको महापरिनिर्वाण भएको दुई हजार पांच सय वर्ष पछि वर्माको राजधानी रंगुनमा श्रीमंगल नामक स्थानको परलोकशम चैत्यको नजीक महापाषाण शैल गुफमा महास्थविर भदन्त रेवत्को अध्यक्षतामा सम्पन्न हुँदा दुई हजार पाँंच सय जनाको सहभागिता रहेको थियो । त्यस सङ्गीतिलाई सफल पार्न धार्मिक प्रधान मन्त्री उनले सहयोग गरेका थिए ।
महायान सङ्गीति :
          आचार्य भावविवेकले तर्कज्वालामा प्रस्तुत गरे अनुसार जतिखेरा राजगृहको विपुलगिरिमा भगवान् बुद्धको सामान्य सूत्रहरुको संगायान हुँदै गर्दा विमल सम्भवगिरिमा समन्तभद्र, मञ्जुश्री,गुह््यकाधिपति, मैत्रेयनाथ, वज्रपाणि आदि बोधिसत्वहरुद्धारा  महायान सूत्रहरुको सङ्गायन भैरहेको थियो र साथै त्यही समयमा वज्रपाणिद्धारा सबै तन्त्रहरुको पनि सङ्गायान गर्नु भएको थियो ।
महायान:
     बोधिचित्त उन्पन्न गर्नु महायानमा प्रवेश गर्ने द्वार हुन । ‘‘यायते अनेनेति यानम्” अर्थात जसमा जाने गर्दछ, त्यो यान हो । यस विग्रहको अनुसार मार्ग,जसले गन्तव्य स्थानसम्म लैजाने गर्दछ त्यसलाई यान भनिन्छ । अर्थात् यान शब्द मार्गको वाचक हो । ‘‘यायते अस्मिन्निति यानम्”—अर्थात् जसमा जाने गर्दछ त्यसलाई पनि यान भनिन्छ । यस दोस्रो विग्रहको अनुसार फललाई पनि यान भनिन्छ । फल नै गन्तव्य स्थान हुने गर्दछ । यसरी यान शब्द फल वाचक पनि हुन्छ । ‘‘महच्च तद् यानं महायानम्”— अर्थात् जुन यान ठुलो छ त्यो महायान हो । महायानसूत्रालङ्कारमा महायानको सातवटा महत्व यसरी दर्शएको छ ।
आलम्बनमहत्वं च प्रतिपत्तेद्र्वयोस्तथा ।
ज्ञानस्य वीर्यारम्भस्य उपाये कौशलस्य च ।।
 
उदागमहत्वं च महत्वं बुद्धकर्मणः ।
एतन्महत्वयोगाद्धि महायानं निरुच्यते ।।
१ आलम्बन महत्व, २ प्रतिपत्तिमहत्व, ३ ज्ञानमहत्व, ४ वीर्यारम्भमहत्व, ५ उपायकौशलमहत्व, ६  समुदागममहत्व, एवं ७ बद्वुद्धकर्ममहत्व ।
१. आलम्बनमहत्वः— बोधिसत्वले श्रावकयान, प्रत्येकबद्धयान र बोधिसत्वयान संग सम्बद्ध सबै सूत्रहरुको श्रवण , चिन्तन, र भावनाद्वारा विधिवत अभ्यास गरी विभिन्न रुचि भएको सत्वहरुको हितको लागि यथायोग्य उपदेश दिने गर्दछन् ।
२. प्रतिपत्तिमहत्वः— प्रतिपत्तिको अर्थ साधना हो । स्वार्थ र परार्थ गरी दुई प्रकारका प्रतिपत्ति हुन्छन् । बोधिसत्वको प्रमुख उद्देश्य नै सबै प्राणीहरुलाई बुद्धत्व प्राप्त गराउनु हो, अतः सबै प्राणीहरुलाई बुद्धत्व प्राप्त गराउनुलाई परार्थ प्रतिपत्ति र त्यसको लागि पहिले स्वयं बुद्धत्व प्राप्त गर्नुलाई स्वार्थ प्रतिपत्ति भनिन्छ ।
३. ज्ञानमहत्वः— बोधिसत्वयानमा पुद्गलनैरात्म्यज्ञान र धर्मनैरात्म्यज्ञानको ठूलो महत्व छन् । पुद्गलनैरात्म्य क्लेशावरणको प्रतिपक्ष र धर्मनैरात्म्य ज्ञेयावरणको प्रतिपक्ष हुन् । यी दुवै नैरात्म्यको ज्ञानद्वारा दुवै आवरणलाई प्रहाण गरी सर्वज्ञताको सिद्धि गरिन्छ । अतः पुण्यसंभार र ज्ञानसंभारको संचय गर्नु पर्दछ ।
४. वीर्यारम्भ महत्वः—  बोधिसत्वको उद्देश्य अल्पकालमा सिद्ध गर्न सकिन्दैन। तीन असंख्य कल्पसम्म  सोत्साहपुर्वक निरन्तर रुपमा कुशल कर्म गर्दै पुण्य संचय गरे पछि बुद्धत्व प्राप्त सकिन्छ । अतः बोधिसत्वले उत्साहपुर्वक जगत् कल्याणको लागि आफ्नो साधना विधिको निस्वार्थ रुपमा अभ्यास गरिरहन्छ ।
५. उपायकौशलमहत्वः— बोधिसत्वले कुशलता पूर्वक सांवृत्तिक दृष्ट्रिबाट कामराग आदि अधिकांश क्लेशरुको प्रहाण नगरी त्यसलाई परार्थ सिद्धिको लागि मार्गको रुपमा परिणत गरी दिन्छ । पारमार्थिक दृष्ट्रिबाट त कुनै प्रहाण गर्नु पर्ने क्लेश नै हुदैन । किन भने सबै हेय र उपदेय असत् हुन । अतः कामरागलाई प्रहाण नगर्द पनि बोधिसत्वको चित्त क्लेशबाट संक्लिष्ट हुदैन ।
६. समुदागममहत्वः— बोधिसत्वयानद्वारा साधना गर्नले दशवल, चारवैशारद्य, तथा अठार आवेणिक सिद्धिको प्राप्ति हुन्छ ।
७. बुद्धकर्ममहत्वः— बोधिसत्वयानद्वारा जगत्कल्याणार्थ विभिन्न प्रकारको चरित्र प्रर्दशन गरी भिन्न रुचि भएका सत्वहरुको हितसम्पादन गर्न तदानुरुप देशना गर्दछ ।
धार्मिक तथा सांस्कृतिक जगतमा महायानको उद्भव एक अभूतपूर्व एवं क्रान्तिकारी घटनाको रुपमा उदय भएको छ । महायान बौद्ध धर्मको उद्भव पूर्व बौद्ध, बौद्धेतर सबै दर्शन मोक्ष अथवा निर्वाणलाई नै परम पुरुषार्थ एवं जीवनको लक्ष्य मान्दथ्यो । चार पुरुषार्थ धर्म, अर्थ, काम र मोक्ष अथवा दुई अभ्युदय र निश्रेयस मध्ये मोक्ष र निश्रेयसलाई नै सर्वश्रेष्ठ मानदथ्यो । आत्यन्तिक दुःखबाट विमुक्त हुनु नै मोक्षको स्वरुप भएको स्वीकार गर्दथ्यो । यस प्रकारको मोक्ष नितान्त व्यतिगत हुने गर्दछ।
एक महायानी प्राणीलाई दुःखवाट मुक्त गरी सुख दिलाउन चाहन्छ । यो महान उद्देश्यको अगाडि व्यक्तिगत मोक्ष रसहीन हुन्छ । लोकको दोषमा लिप्त नभई संसारलाई पनि नत्यागी जन्म जन्मान्तर पर्यन्त संसारमा रहनु बोधिसत्वको व्रत हुन् । आचार्य शान्तिदेबले बोधिचर्यावतारमा भन्नु भएको छ —
आकाशस्य स्थितिर्यावद् यावच्च जगतः स्थितिः ।
तावन्मम स्थितिर्भूयाद् जगददुःखानि निघ्नतः ।।१०।।५५
जबसम्म यो आकाश र संसार रहन्छ तबसम्म यो जगतको दुःखहरु हटाउदै म पनि यही रहि रखू‘ । यहाँसम्म कि बोधिसत्व नरकमा पनि स्वेच्छया जाने गर्दछ । बोधिसत्वको जन्म कर्म क्लेशको वशमा नभई स्वच्छया अरुको कल्याणको लागि हुने गर्दछ । महायानी बोधिसत्व न त लोकको दोषबाट दुषित हुन्छ न संसारलाई त्यागेर निर्वाणमा प्रविष्ट नै हुन्छ । वहाँ त मध्यमा अर्थात् अप्रतिष्ठित निर्वाणमा स्थित रहन्छन् ।
हिमाली क्षेत्रमा बौद्ध धर्मको स्थापना:
       सातौ शताब्दी तिर तिब्बतको ३२ औं राजा स्रोङचेन गम्पोले पहिलो पटक तिब्तमा बौद्ध गोन्पा निर्माण गर्न लगाए। वहाँकै निमण्त्रणामा भारतका आचार्य कुमार ब्राह्मण, कुमार शंकर र नेपालक आचार्य शीलमञ्जु तिब्बत जानु भई  बुद्ध वचनको केही सूत्र र तन्त्र भोट भाषामा अनुवाद गरी औपचारिक रुपमा  हिमाली क्षेत्रमा बौद्ध धर्मको स्थापना गर्नु भयो । तिब्बतका ३७ औं राजा ठिसोङ देउचेनको निमन्त्रणामा भारतबाट उपाध्याय शान्तरक्षित, आचार्य पद्मसम्भव, आचार्य विमलमित्र, आचार्य शान्ति गर्भ,आचार्य धर्मकीर्ति, आचार्य बुद्धगुह्य, आचार्य कमलशील, आचार्य विबुद्धसिद्धि आदि तिब्बत जानु भयो, भारतबाट जानु भएका बौद्ध विद्वान र तिब्बतका लोचवा (अनुवादक) वैरोचना, ञाकज्ञानकुमार,कावपलचेक, चोगरो लुयि ग्याल्छेन र श्याङयेशेदे आदिले विनय,सूत्र र अभिधर्मपिटकलाई भोटभाषामा अनुवाद गर्नुको साथै व्याख्यान तथा साधना गराउने व्यवस्था पनि मिलाए। तिब्बतका ४१ औं राजा ठिराल्पाचेनको निमन्त्रणामा भारतबाट आचार्य जिनमित्र, सुरेन्द्रबोधी, शीलेन्द्रबोधी र दानशील आदि  तिब्बत जानु भई प्राचीनकालमा लोचवा र पण्डितहरुद्वारा संस्कृत भाषाबाट भोट भाषामा अनुवाद गरिेएका बुद्ध वचनको अर्थ बुझ्ना कठिन भएको शब्दहरुलाई राजा ठिराल्पाचेनको अज्ञानुसार तिब्बतका उपाध्यय रत्नरक्षित, धर्मताशील, लोचवा ज्ञानसेन र जयरक्षित आदि बौद्ध विद्वानहरुले संशोधन गर्नुभएको थियो। तिब्बतका ४२औं अधार्मिक राजा लाङदारमा बौद्ध धर्म विनास गर्ने राजाको रुपमा स्थापित भयो । यीनको शासन कालमा प्राय बौद्ध धर्म लुप्त भयो । पछि  विस्तारै पुनः तिब्बतमा बौद्ध धर्मको उदय हुना थाल्यो । यस प्रकार सातौं शताब्दी देखि बाह्रौं शताब्दीसम्म भारत र तिब्बतका बौद्ध विद्वानहरुले संयुक्त रुपमा संस्कृत भाषामा भएका सम्पूर्ण बुद्धवचन तथा बौद्ध शास्त्रहरु भोट भाषामा अनुवाद गर्नु भयो। भारतबाट बौद्ध धर्म दक्षिण र उत्तर तर्फ फैलिने क्रममा ती क्षेत्रमा बसोबास गर्ने जन्ताले सहर्ष स्वीकार गरे। उत्तरी हिमाली क्षेत्र तर्फ महायानको विकास व्यापक रुपमा हुना थाल्यो र पुरै  हिमाली क्षेत्रमा महायान बौद्ध धर्म अन्र्तगत ञिङमा,काग्यु,साक्य र गेलुग गरी चार प्रकारका बौद्ध परम्पराको विकास भयो।  हिमाली क्षेत्रमा बसोबास गर्ने जन्ताले महायान बौद्ध संस्कृति अनुकुल आ—आफ्नै रहन सहन तथा भेष भुषामा आधारित जन्म देखि मृत्यु पर्यन्त सबै कृयकलापहरु गर्दै आइरहेका छन् । समग्र रुपमा भन्नु पर्दा हिमाली वारपरका  जन्ताको जीवन जीउने कलाको विकास दैनिक क्रियाकलाप जीपन यापन आदि महायानी बौद्ध धर्म संग विशेष सम्बन्ध रहेको छ ।  हिमाली क्षेत्रमा  बसोवास गर्ने हिमाली वासीहरुले प्रायः प्रत्येक गाँउमा गोन्पा स्थापना गरी शाक्यमुनि बुद्धले प्राणी हितको लागि उपदेश गर्नु भएका शिक्षाहरु अविछिन्न रुपमा गोन्पामा अध्ययन, अध्यापन तथा साधनाको अभ्यास उपासक र उपासिकाको सहयोगमा गरिन्दै आएको छ । यसको साथै लहरे मणि,चैत्य आदि स्थापना गरी स्वयं र अरुलाई पुण्य आर्जन गर्ने अवसर समेत प्रदान गरिएको छ। बौद्ध संस्कृति अनुकुल निर्माण गरिएको बौद्ध दर्शनको अध्ययन अध्यापन गर्ने शिक्षालयको रुपमा स्थापित गोन्पा, पुण्य आर्जन गर्नका निम्ति निर्मित चैत्य, मणि आदिले यस क्षेत्रको सौन्दर्यतालाई बढाउनुको साथै पर्यटकहरु भित्राउनुमा ठूलो योगदान पु¥यएको छ । 
राज्यशिक्षाको मूलधारमा गोन्पा शिक्षाको अवस्था
         समाजमा व्याप्त विसंगति अन्धाविश्वासलाई हटाउदै लैगिंक असमान्तको विरोध गर्दै सबैलाई समान रुपले सही शिक्षा दिनसके मात्र सबै प्रकारका विभेद, विसंगतिहरू हटाउदै शान्तिपूर्ण र सम्मृद्ध समाज निर्माण गर्न सकिने भएको हुँदा करुणाले युक्त शाक्यमुनि बुद्धले सर्वजन हितार्थ प्रतिपादन गर्नु भएका शिक्षाको महत्व आजको तनावपूर्ण विश्वमा दिनोदिन बढदै भएको छ । सभ्यताको विकासक्रम संगै विकास भएको बौद्ध शिक्षा आफ्नै मूल थलोमा विभिन्न राजनैतिक कारणले गर्द बहिष्करणमा पारिएको छ । वर्तमान अवस्थामा बौद्ध शिक्षालाई संगठनात्मक वा संस्थागत रुपमा सञ्चालन गर्न भिक्षु, लामा गुरुहरू नै मुख्य प्रशासक हुने गरी राज्यलै शिक्षा मन्त्रालय अन्र्तगत अधिकार सम्पन्न बौद्ध विभाग स्थापना गर्नु पर्दछ । प्राचीनकालमा शाक्यमुनि बुद्ध विराजमान हुँदा पनि भिक्षुहरूनै शैक्षिक प्रशासक थिए । राजा अंशुवर्मले सातौं शताब्दीको सुरुतिर बौद्ध सम्प्रदायका लागि भिन्नै किसिमबाट शिक्षा प्रदान गर्न धार्मिक संस्था बौद्ध विहार गोन्पाहरूलाई शैक्षिक केन्द्रको आधार मानी शिक्षा दिने व्यवस्था मिलाएका थिए । सन् १९८९मा प्रधानमन्त्री भीमशमशेरले बौद्ध पाठशालाको समेत रेखदेख गर्ने जिम्म डाइरेक्टर पं. हेमराज पाण्डेलाई दिए । सन् २००० मा सेनेगलको डकारमा भएको सम्मेलनले ‘‘सबैकोलागि शिक्षा’’ २००१–२०१५ डकार घोषणपत्र जारी भए अनुसार नेपालले पनि त्यसमा प्रतिबद्धता जनाउदै त्यस कार्यक्रमलाई लागू गर्न सन् २००४–२००९ आवधिक योजन तयार पारिएको थियो । नेपालमा आ–आफ्नो मौलिक पहिचान रहेको धार्मिक प्रकृतिका शिक्षालाई राष्ट्रिय मूल धारमा प्रवेश नगराए सन् २०१५ सम्ममा सबैलाई शिक्षा दिने नीति सफल नहुने देखे पछि गोन्पा शिक्षालाई मूलप्रवाहीकरण गर्नको लागि शिक्षा मन्त्रालयको पहलमा २०६१ सालदेखि केही प्रयासहरू भएको र २०६३ सालदेखि नेपाल बौद्ध महासंघले सकृय सहभागिता जनाउदै त्यसपछिका दिनहरूमा गोन्पा शिक्षा सम्बन्धी सबै कार्यहरू नेपाल बौद्ध महासंघको पहलमा हुंदै आएको छ ।  नेपाल बौद्ध महासंघकै पहलमा देशका विभिन्न स्थानमा रहेका गोन्पा विहारहरूको पहिचान गरी तिनीहरूलाई वर्तमान औपचरिक शिक्षा पद्धतिमा समायोजन गर्न शिक्षा विभागमा सचिवालय रहने गरी मिति २०६६।८।२८ मा (मन्त्री स्तरीय) निर्णयानुसार गोन्पा विहार व्यवस्थापन परिषद नेपाल गठन भएको छ । परम्परागत गोन्पा शिक्षालाई कुनै पनि असर नपर्ने गरी शिक्षा ऐनमा विशेष व्यवस्था गरी गोन्पा विद्यालय सञ्चालन गर्न सम्बन्धित गोन्पा÷विहारहरूलाई राज्यले विशेष अनुदान उपलब्ध गराई प्रोत्साहित गरिनुको साथै गुरु परम्परा अनुसार गोन्पामा अध्ययन पुरा गर्नु भएका गुरुहरूको शैक्षिक प्रमाणपत्रलाई समकक्षता दिने व्यवस्था मिलाउनु पर्ने टाड्कारो आवश्यक्ता देखिएको छ । पाठ्यक्रम विकास केन्द्रद्वारा गोन्पा शिक्षाको पाठ्यक्रम तथा पाठ्यपुस्तक कक्षा १ देखि १० सम्म विकास गरी सकेको र अब निकट भविष्यमा कक्षा ११–१२ को यथाशीघ्र विकास गर्नु पर्ने देखिन्छ । गोन्पाहरूमा अध्यापन गराउने शिक्षकहरूलाई शैक्षिक जनशक्ति विकास केन्द्रद्वारा वार्षिक रुपमा सम्बन्धित जिल्लहरूमा नै शैक्षिक तालिमको व्यवस्था गरिनु पर्दछ ।
उपसंहारः
        शाक्यमुनि बुद्धको शिक्षा मैत्री, करुणा, मुदीता र उपेक्षबाट प्रेरित  बौद्धहरुको लागि मात्र नभई शान्ति चाहने विश्वको विभिन्न भागमा बसोवास गर्नेहरुले पनि अनुसरण गरिरहेको अवस्थामा नेपाल सरकारले यसको संरक्षण र विकासको लागि सम्बन्धित सरोकारवालाहरुसँग सहकार्य गरी नेपाली सस्कृतिको रुपमा विकास गर्न विशेष प्रकारको योजना बनाई लागु गर्नु पर्ने टड्कारो आवश्यक्त रहेको छ ।
 
आचार्य नुर्बु शेर्पा
अध्यक्ष
शिक्षा विभाग
गोन्पा/विहार व्यवस्थापन परिषद्, नेपाल